अति प्रशोधित खाना स्वास्थ्यका लागि हानिकारक

काठमाडौं, ११ चैत । अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ । विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यसँग देखाएको हो । यस्ता खानेकुराले मुख्यगरी मुटुमा समस्या ल्याउनका साथै मोटोपना बढाउँदा अरु समस्या थपिने गरेको पाइएको छ ।
प्याकिङ गरिएका कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्री मिसाएको छ भने त्यसलाई अति प्रशोधित खाना भनिन्छ । अति प्रशोधित खानेकुरामा प्राय धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ । मिठाइ, पेय पदार्थ, पाउरोटी, केक, कर्नफ्लेक्स, चिप्स तथा चाउचाउहरु लगायत प्याकेट बन्द गरिएका तयारी खाना अति प्रशोधित खाना हुन् । अति प्रशोधित खानेकुराले विशेषगरी बालबालिकालाई बढी असर गर्ने हुँदा यसबारेमा जनचेतना र रोकथामका लागि सरकारी प्रयास पनि आवश्यक हुने विज्ञहरुको सुझाव छ ।।