दाङको तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु

तुलसीपुर, माघ २६ । दाङको तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु भएको छ । तुलसीपुर–३ ठुलासम्वा निवासी पुष्कर खत्रीको १० बर्षीय छोरा शिशिर केसीले घर नजिकै खलोमा खेल्ने क्रममा आफ्नै भाई ९ बर्षका भुवन केसीलाई भरुवा बन्दुकले हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार ती बालकले आफ्नै घरमा राखेको बाजेको भरुवा बन्दुकले आज बिहान ११ बजेको समयमा आफ्नै भाईलाई हानेका हुन् ।
६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक भेटाएर भाईको दाँया कन्चटमा हानेको प्रहरीले जनाएको छ । प्रहरीले एकथान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासहित गोली प्रहार गर्ने शिशिरका बाजेनातीलाई पक्राउ गरेको छ । मृतकको शव अहिले घटनास्थलमै रहेको छ भने इन्स्पेक्टर बिनोदराज खत्रीको कमाण्डमा अहिले ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।।