चैत्र ३, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुर खानेपानीमा ७ हजार मत खस्यो, मतगणना आजै हुने  

तुलसीपुर, चैत्र २ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७ हजार १ सय ७५ मत खसेको छ ।  बिहान ८ बजेबाट सुरु भएको मतदानको समय दिउँसो ४ साढे चार बजेसम्म तोकिएको थियो । यद्यपी गेटभित्र पसेर लाइनमा लागेका मतदाताले भोट खसाल्दा सम्म साढे ६ बजेको तुलसीपुर खानेपानी निर्वाचन समितिका सदस्य तथा अधिवक्ता पुस्कर भण्डारीले जानकारी दिनुभयो ।  तुलसीपुर खानेपानीमा १० हजार ९ सय १८ मतदाता सङ्ख्या रहेकोमा ३ हजार ७ सय ४३ मत कम खसेको हो । मतदाताले १५ ठाउँबाट एकैपटक भोट हाल्ने गरि १५ वटा बुथ बनाइएको थियो ।

भोट हाल्न नपाएका मतदाताले गरे विरोध 
यता साढे ४ बजेपछि भोट हाल्न गएका मतदाताले भने विरोध गरेका छन् । आफुहरुलाई ५ बजेसम्म भोट हाल्न पाइने बताए पनि साढे चार बजे गेट बन्द गरेर मताधिकारबाट बञ्चित गराएको भन्दै बिरोध गरेका हुन् । बिहान साढे सात बजेबाट मतदान गर्न पाइने बताए पनि निर्वाचन समितिको अकर्मन्यताका कारण ८ बजेपछि  मात्र मतदान सुरु भएको बताउँदै उपभोक्ता शालिकराम केसीले त्यसको जिम्मेवारी निर्वाचन समितिले लिनुपर्ने बताउनुभयो ।  उपभोक्तालाई मतदान गर्नै समयका विषयमा स्पष्ट जानकारी नदिँदा करिब एक हजार बढि मतदाता गेट बाहिरबाट फर्किन बाध्य भएको उपभोक्ताहरूले दाबी गरेका छन् ।

मतगणना आजै रातिबाट सुरु हुने 
तुलसीपुर खानेपानी मतगणना आजै रातिबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  मतपेटिका सङ्कलन, उम्मेदवारका प्रतिनिधिको छनौट र मुचुल्का तयार पार्दासम्म समय लाग्ने भएकाले १० बजेपछि मात्रै मतगणनाको काम सुरु हुने निर्वाचन समितिका सदस्य भण्डारीले बताउनुभयो ।रातीबाट मतगणना सुरु भएको अवस्थामा पर्सीसम्म अन्तिम नतिजा आउने उहाँको भनाई छ । सदस्यहरुको २ ठाउँ र अन्य पदाधिकारीहरुको २ ठाउँ गरी ४ ठाउँबाट मतगणना गर्ने तयारी गरिएको उहाँले बताउनुभएको छ ।

चुनावी मैदानमा नेकपा एमाले र राप्रपाबाट मनोज लामिछाने, नेपाली काँग्रेसबाट यमकान्त भण्डारी र माओवादी सहित विभिन्न सानापार्टीबाट सीताराम शर्मा नेतृत्वको टोली उत्रिएको छ ।।

प्रतिक्रिया दिनुहोस्