दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे गरिदै

दाङ, २ असार । पश्चिम दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ । बबई गाउँपालिका–५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु गरिएको बबई गाउँपालिकाका इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीयस्थल पुरन्धारा झरनासम्म पुग्ने सडक कालोपत्रे भएपछी नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत करिब ६५ लाख ६५ हजार १ सय ८५ रुपैयाँको लागत सहभागितामा करिब नौ सय मिटर सडक कालोपत्रेको काम नबिना कन्स्ट्रक्सनमार्फत भइरहेको उहाँले बताउनुभयो ।
सडक कालोपत्रे नहुँदा बर्षातको समयमा झरनासम्म पुग्न समस्या हुने गरेकोमा सङ्घीय सरकार र स्थानीय सरकारको ५०–५० प्रतिशत लगानीमा सडक कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर देवकोटाले बताउनुभयो । सडक कालोपत्रे गर्ने काम सम्पन्न भएपछि स्थानीयलाई हिँडडुलसँगै झरनासम्म पिकनिक खान, घुम्न आउनेलाई सहज हुने पालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले बताउनुभएको ।।