दाङ तुलसीपुर ११ मोतिपुरको मोटरबोट रोक्न सिडियोको निर्देशन

दाङ, चैत २९ । जिल्ला प्रशासन कार्यालय दाङले तुलसीपुर–११ मोतिपुरस्थित बबई नदिमा सञ्चालन भइरहेको मोटरबोट प्रकृया पुरा गरेर चलाउन निर्देशन दिएको छ । पछिल्लो समय निकै चर्चामा रहेको मोतिपुरको मोटरबोटका बारेमा आवश्यक जाँचबुझ गर्न प्रहरीलाई दिर्नेशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । नदि ताल तलैयाहरुमा यस्ता किसिमका कृयाकलापहरु सञ्चालन गर्नका लागी पर्यटन विभागबाट अनुमती लिनुपर्ने भन्दै सिडियो लम्सालले अनुमती भए-नभएको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । सिडियो लम्सालले सम्बन्धित निकायको अनुमती सँगसगै मोटरबोटमा चड्ने यात्रुहरुको सुरक्षाका साथै विमा गरे-नगरेको र मोटरबोट चालकको अवस्थाबारे बुझेर यदी कुनै प्रकृया नपुगेको भए मोटरबोट रोक्न भनिएको बताउनुभयो । नागरिकको सुरक्षालाई मध्यनजर गर्दै आवश्यक प्रकृया पुरा नभएको अवस्थामा प्रकृया पुरा नहुदासम्म रोक्नुपर्ने उहाँको भनाई छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने यसबारे आधिकारिक रुपमा अहिलेसम्म कुनै किसिमको जानकारी प्राप्त नभएको बताएको छ ।
इप्रका तुलसीपुरका निमित्त प्रमुख इन्स्पेक्टर बिनोदराज खत्रीले मोटरबोट रोक्ने बिषयमा बाहिर हल्ला मात्रै सुनेको भन्दै अहिलेसम्म आधिरिक रुपमा रोक्नका लागी निर्देशन नआएको बताउनुभयो । तुलसीपुर उप—महानगरपालिकाले भने मोतिपुरमा सञ्चालन भइरहेको मोटरबोट परिक्षणकालिन मात्रै रहेको बताएको छ । उक्त स्थानमा यसको सम्भाब्यता अध्यनका लागी अहिले मोटरबोट चलिरहेको भन्दै कानुनी प्रकृया पुरा गर्ने क्रममा रहेको मेयर टिकाराम खड्काले बताउनुभयो । सञ्चालकहरुबाट अनुमतीका लागी आवश्यक कागजपत्र प्राप्त भएको भन्दै उहाँले नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने काम नगरपालिकाले गर्ने र क्षेत्राधिकार बाहिरको प्रकृयाका लागी अन्य निकायसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो । यता मोटरबोट सञ्चालक संस्था भिमसोरा मल्टिप्रपोज प्रालिका उमेश डाँगीले भने मोटरबोट निरन्तर चलिरहेको बताउनुभएको छ । अहिले आफुहरुले परिक्षणका रुपमा चलाइरहेको भन्दै उहाँले अहिलेसम्म मोटरबोट रोक्ने भनेर कतैबाट आधिकारिक कुरा नआएको बताउनुभयो । आफुहरुले अनुमती प्रकृया र मोटरबोट सञ्चालनको काम सँगसँगै अगाडी बढाइरहेको उहाँको भनाई छ ।।