राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कर्मचारीले ८ महिनादेखी पाएनन् तलब

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरुले लामो समयदेखी तलबभत्ता पाउन सकेका छैनन् । शिशु स्याहार कार्यक्रम अन्र्तगत छनौट भएर अस्पतालमा काम गर्दै आएका कर्मचारीहरुले विगत ८ महिनादेखीको तलब नपाएको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत ४ जना मेडिकल अफिसर, १८ जना स्टाफनर्स, २ जना अहेब, एकजना फार्मेसी र १० जना कार्यालय सहयोगीले तलब पाएका छैनन् भने कोरणाकालमा भर्ना भएका अन्य धेरै कर्मचारीहरुले समेत तलब नपाएको भन्दै गुनासो गरेका छन् । २०७९ सालको बैशाख महिनादेखी ६ महिनाको नियुक्तीपत्र लिएर अस्पतालमा काम गर्दै आएकोमा असोजमै नियुक्ती सकिएपनि अहिलेसम्म नियुक्ती समेत थप नभएको र तलब पनि नपाएको उनीहरुको भनाई छ । कर्मचारीहरुले तलब पाउन नसक्दा अहिले घर व्यवहार धान्नै मुस्किल भइरहेको बताएका छन् । तलब नपाएपछी कतिपय कर्मचारीहरु राजिनामा दिएर समेत जान थालेका छन् । तलब नपाउनुको कारण समेत आफुहरुलाई थाहा नभएको उनीहरु बताउछन् ।
यता प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। पदमराज अधिकारीले कर्मचारीलाई तलब खुवाउनका लागी आफुले प्रयास गरिरहेको बताउनुभएको छ । नियमित कर्मचारी नभएर प्रदेश मन्त्रालयबाट शिशु स्याहार कार्यक्रम अन्र्तगतका कर्मचारी भएकाले पनि माथीबाटै पैसा नआएको उहाँले बताउनुभयो । ठुलो संख्यामा कर्मचारीले तलब नपाउदा समस्या भएको उहाँले बताउनुभयो । कर्मचारीहरुले तलब नपाएको गुनासो गर्न थालेपछी आफुले यसअघि नै अस्पताल बन्द गर्न खोजेपनि प्रदेश सरकारले तलब पठाउने आस्वासन दिएकाले अहिले सम्म चलाउदै आएको उहाँको भनाई छ । यता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भने विभागिय मन्त्री नहुदा तलब उपलब्ध गराउने प्रकृया रोकिएको बताएको छ । मन्त्रालयका योजना शाखा प्रमुख अर्जुन ढकालले शिशु स्याहार कार्यक्रमबाट कर्मचारीलाई तलब दिन नसकिने भन्दै अर्थ मन्त्रालयले करारमा नियुक्ती गर्न भनेकै कारण आफुले प्रस्ताव पेश गर्ने तयारी गरेको बताउनुभयो । तर, त्यसै क्रममा मन्त्री हटेपछी रोकिएको र अहिले आफुलाई यसबारे कुनै जनाकारी नभएको उहाँले बताउनभयो । यस्तै स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डले पनि विभागिय मन्त्री नहुदा प्रस्ताव पेश हुन नसकेको बताउनुभएको छ । अब नयाँ सरकार गठन भएपछी यसको प्रकृया अगाडी बढाउने उहाँले बताउनुभएको छ ।।