चैत्र २३, २०८१
पढ्न लाग्ने समय :

सल्यानमा गाडीको ढोकाबाट खसेर १ जनाको मृत्यु

सल्यान, चैत २२ । सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एकजना यात्रुको मृत्यु भएको छ । नेपालगन्जबाट सुर्खेतको गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा हिजो बिहीबार बेलुकी सवा ६ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–५ बस्ने २७ वर्षीय गणेश बुढाको मृत्यु भएको हो ।

बुढा गाडीको ढोकामा झुन्डिएको बेला खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिनुभयो । गणेशको टाउको, कान ,निधारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका बुढालाई तत्काल उद्धार गरेर मेहलकुना अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गाडीमा सवार यात्रुको ढोकाबाट लडेर मृत्यु भएपछि गाडी चालक सिम्ता–५ का ४३ वर्षीय जिवराज गिरी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईप्रका देवस्थलमा राखिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्