हैजाका कारण २ हप्तामै ९२ जनाको मृत्यु

काठमाडौं, २५ फागुन । सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेको सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ । सुडानको ह्वाइट नाइल राज्यमा फेब्रुअरी २० पछि हैजा फैलिएको हो । त्यसपछि कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ जना बिरामी भर्ना भएका थिए । फेब्रुअरी १६ मा विद्रोही समूह पारामिलिटरी र्यापिड सपोर्ट फोर्सेसु (आरएसएफ) ले एउटा पावर स्टेशनमा आक्रमण गरेपछि बिजुली आपूर्ति बन्द भएको थियो ।
बिजुली आपूर्ति बन्द भएसँगै सरकारी संयन्त्रले वितरण गर्ने पानीको आपूर्ति बन्द भएको र मानिसहरूले अरू स्रोतको पानी प्रयोग गर्दा पानीजन्य रोग हैजा फैलिएको मन्त्रालयले जनाएको छ । सुडानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२४ को जुलाईदेखि गएको मङ्गलवारसम्ममा ५७ हजार १ सय ३५ जनामा हैजा पुष्टि भएको छ । उनीहरूमध्ये १ हजार ५ सय ६ जनाको ज्यान गइसकेको छ । सुडानमा सन् २०२३ को अप्रिलदेखि सशस्त्र सेना र आरएसएफबीच युद्ध चलिरहेको छ । युद्धका कारण कम्तीमा २९ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ ।।