Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१७ असार २०८१, आईतवार १६:२९
पढ्न लाग्ने समय :

२०८ किलो गाँजासहित ५ जना पक्राउ

काठमाडौँ, १६ असार ।  काठमाडौँ, बारा र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–५ ठुलो ईट्टवालबाट अवैध लागु औषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका–१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका–५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागु औषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ ।

यता काठमाडौँ महानगरपालिका–१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागु औषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रुपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका–६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगन्ज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा भारत पूर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा–२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागु औषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्