जवानीमै हुन सक्छ हृदयघात !
काठमाडौं, पुस ६ । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्यो ।
‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा. अधिकारी सुनाउँछन् ।
गत बुधबार (पुस ६) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ बर्षीय आवासीय चिकित्सक डा. किरण श्रेष्ठ मृत अवस्थामा भेटिए । अस्पतालका निर्देशक डा.भरत खत्रीका अनुसार डा. श्रेष्ठको हृदयघातकै कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । बुधबार बिहान ड्यिुटीमा रहेका डा. श्रेष्ठ असजिलो महसुस भएको भन्दै कोठामा फर्किएका थिए । उनले ग्यास्ट्रिकको औषधि खाएको पाइएको डा. खत्री बताउँछन् ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हृदयघात (हार्ट अट्याक) का बिरामी दिनहुँजसो १०/१२ जना आइपुग्छन् । त्यसमध्ये १५ प्रतिशत ४५ बर्षमुनिका छन् । एक दशकअघिसम्म हृदयघात ४५ बर्षभन्दा माथि मानिसलाई मात्रै हुने रोगको रूपमा परिचित थियो । तर, पछिल्ला बर्षमा युवा अवस्थामा हृदयघात हुनेको संख्या डरलाग्दो गरी बढेको छ ।
‘अब बुढापाकाको मात्र रोग रहेन । नेपालमा २० बर्षको उमेरका युवालाई हृदयघात हुनु सामान्य होइन । यस्ता उमेर समूहको संख्या ह्वातै बढिरहेको छ’, मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापति भन्छन् ।
मुटुरोग विशेषज्ञ डा. हरिहर खनालकोमा २१, २९, ३२ बर्षका युवा हृदयघात भएर फ्लोअपमा आइरहेका छन् । ‘अस्वस्थकर खानपान, आधुनिक जीवनशैली, मानसिक तनाव, सुर्तीजन्य एवं अत्यधिक मदिरा सेवन, मोटोपना जस्ता कारकतत्वले हृदयरोगीको संख्या बढाइरहेको छ’, डा. खनाल भन्छन्, ‘झन् युवापुस्तामा धुमपानको लतले त कलिलै उमेरमा रोगी बनाउन थालिसकेको छ ।’
नेपालमा पछिल्ला वर्षमा हृदयघातको जोखिम बढिरहेको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बिरामीमाथि गरिएको एक अध्ययनले देखाएको छ ।।

