मनसुन अवधिमा १८ लाख व्यक्ति प्रभावित हुने आकलन

Views: 1000 89
0 0
Read Time:3 Minute, 19 Second


काठमाडौं, १० जेठ । गृह मन्त्रालयले यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका १८ लाख बढी व्यक्ति प्रभावित हुने आकलन गरेको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा यस वर्षको मनसुन अवधिमा ४ लाख ४ हजार घरधुरीका १८ लाख एक हजार व्यक्ति प्रभावित हुने आँकलन गरिएको हो ।
यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपद्‌बाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो ।
प्राधिकरणको कार्यकारी समितिको बैठक बसेर २०८१ सालको कार्ययोजनालाई अन्तिम रुप दिन भने बाँकी छ । प्राधिकरणको कार्यकारी समितिको बैठक गृहमन्त्रीको अध्यक्षतामा बस्छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी गर्मी र सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणको आधारमा विपद् प्राधिकरणले प्रभावित हुनसक्ने जनसंख्या अनुमान गर्दै प्रतिकार्य योजना बनाएको हो ।
सामान्यतया नेपालमा १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । जेठदेखि असोजसम्मको चार महिनाको मनसुन अवधिमा नेपालमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । यो कूल वार्षिक वर्षाको ८० प्रतिशत हो । धेरै पानी पर्ने हुँदा यसले विपद्‌को रुप पनि लिने गर्दछ ।
प्राकृतिक रूपमा कमजोर भू–बनोट, भिरालोपना, नदी तथा खोलानालाको सञ्जालका कारण नेपाल मनसुनजन्य प्रकोपबाट जोखिमयुक्त मानिन्छ । नेपालमा मनसुनजन्य प्रकोप भनेर भारी वर्षा, बाढी, पहिरो, डुबान र कटानलाई प्रमुख मानिन्छ । यद्यपि मनसुन अवधिमा सर्पदंश, झाडापखालाजन्य प्रकोप पनि हुने गर्दछ । नेपालमा बढी जनधनको क्षति भने बाढी–पहिरो र चट्याङबाट हुने गरेको छ ।
२०७० वैशाखदेखि २०७९ को चैतसम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका ५ हजार ६१४ वटा घटना अभिलेखित छ । यसबाट २ हजार १४६ जनाको मृत्यु भएको छ भने ७७९ जना बेपत्ता भएका छन् । ६१ हजार ४५५ घर र १८ अर्बभन्दा बढी आर्थिक क्षति पुगेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रेकर्ड छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *