तुलसीपुर, १३ जेठ । दाङको दंगीशरण गाउँपालिका–४ स्थित मायाखोला पुल नजिकमा जाली लगाउदा विभेद भएको स्थानियले गुनासो गरेका छन् । पुलदेखी चारैतिर बराबर जाली लगाउनु पर्नेमा एकातिर धेरै र अर्कोतिर कम जाली लगाएको स्थानिय कमला बस्नेतले बताउनुभयो । पुलदेखी पुर्वतिर एकनासको जाली लगाइएको भएपनि पश्चिमतिरको भागमा एकातिर ५० मिटर र अर्कोतिर १५ मिटर मात्रै जाली लगाएको उहाँले बताउनुभयो । १५ मिटर जाली लगाएको भागतिर आफ्नो दर्ता जग्गा पर्ने भएकाले खोलाले कटान गर्ने जोखिम बढेको उहाँले बताउनुभयो । सडकतिरको भागमा धेरै जाली लगाएर आफ्नो जग्गा भएको ठाउँतिर १५ मिटर मात्रै जाली लगाउदा आफुलाई अन्यायको महसुस भएको उहाँको भनाई छ । जाली लगाएपछि चारैतिर बाराबर लगाउनुपर्ने उहाँको माग छ ।
छुटेको ठाउँमा अर्को बर्ष पुरा गर्छौ : प्रमुख अर्याल
यता लुम्बिनी प्रदेश सडक पुर्वाधार विकास कार्यालयका प्रमुख मनिस कुमार अर्यालले यसबर्ष छुटेकोलाई अर्को बर्ष पुरा गर्ने बताउनुभएको छ । यसबर्ष सडकको भागमा समेत जाली लगाउनुपर्ने भएकाले बजेट अपुग भएको भन्दै अर्को बर्ष त्यसलाई जसरी भएपनि बजेट छुट्याएर पुरा गर्ने बताउनुभयो । निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाटै सडकतिर बढि जाली लगाउनुपर्ने दबाब आएपछी सडकको भागमा बढि जाली लगाउन बाध्य भएको उहाँले बताउनुभयो । अव आउने आर्थिक बर्ष २०८१–०८२ बाट २०/२२ लाख बजेट हालेर सो स्थानको जोखिमयुक्त क्षेत्रमा जाली लगाएरै छाडने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पुर्वाधार कार्यालयबाटै गतबर्ष मात्रै मायाखोलामा पुल निर्माण सम्पन्न भएको थियो । यसबर्ष पुलको संरक्षणका लागी ४० लाख बजेट छुट्याएर आसपासमा जाली लगाउने काम भएको छ ।।