कृष्ण अधिकारी / तुलसीपुर, १५ जेठ । नेपाल नेत्रज्योती संघ दाङको २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले सेवामुलक संस्थाको रुपमा नेत्रज्योति संघले सेवा प्रदान गरिरहेको भन्दै यसको सेवा अझै विस्तार गर्नु पर्नेमा जोड दिएका छन् । नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाहले नेपालमा अन्धोपन निवारणको लागि थालिएको अभियानले अन्धोपनमा न्यूनिकरण भइरहेको भन्दै समस्या पनि बढ्दै गइरहेको बताउनु भयो ।
अहिलेको प्रविधिको बढ्दो उपयोग तथा प्रयोगसँगै प्रवाह भैरहेको सेवा सुविधामा दक्ष जनशक्ति नहुँदा समस्या भैरहेको उहाँको भनाई छ । बढ्दो जनघनत्व नयाँ नयाँ प्रविधिको विकाससँगै अस्पतालमा सेवा लिने सेवा ग्राहीकोसंख्या अनुसार जनशक्ति बढ्न नसक्दा दाङमा मात्रै नभएर लुम्बिनी प्रदेशमा नै समस्या रहेको बताउनु भयो । नेत्रज्योती संघका प्रमुख प्रसासक शमरेर थापाले आँखा अस्पतालबाट दिने सेवाहरु समय सापेक्ष विकसित भइरहेको बताउनु भयो । दृष्टिबिहीनतालाई न्यनिकरण गर्नु मुख्य उद्देश्य रहेको भन्दै अन्धोपन न्युनिकरणमा पछिल्लो समय लेन्स प्रविधि (एसटिसिएस) प्रभावकारी भैरहेको जानकारी गराउनु भयो ।
गढवा गाउँपालिकाका उपाध्यक्ष सारदा चौधरीले २७ वटा नेत्रज्योति संघका शाखा मध्ये दाङ शाखा उत्कृष्ट कार्य गरेको भन्दै यस शाखाले गरेका गतिविधि अन्य शाखाहरुले अनुशरण गर्नुपर्ने बताउनु भयो । नेत्रज्योति संघले वितेको एक वर्षमा आँखाको ओपिडी तर्फ ३ लाख ११ हजार ५ सय ४१ जनालाई सेवा प्रदान गरिएको सचिव घनश्याम सुवेदीले जानकारी दिनुभयो । यस्तै विशिष्टिकृत ओपिडि सेवा तर्फ १७ हजार ९ सय २, ओपिडि कानतर्फ १३ हजार ५ सय ६०, मोतिविन्दुको शल्यक्रिया सेवा १५ हजार ४ सय २ जना, विशिष्टिकृत शल्यक्रिया तथा अन्य सेवा तर्फ ५ हजार ६ सय ४४ जनाले सेवा लिएको सचिव सुवेदीले बताउनु भयो ।
नेपाल नेत्रज्योती संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अभ्यक्षता तथा नेत्रज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम पोखे्रलको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्या नन्द शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेत्रज्योति संघका चिफ डाइरेक्टर सुलक्ष्मी कटुवाल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी लगायतले बोल्नु भएको थियो ।।