काठमाण्डौ, १६ जेठ । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरूलाई प्रहरीले स्वयंसेवकका रूपमा ट्रापिक व्यवस्थापनमा खटाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले हिजो जाँड–रक्सी खाएर गाडी चलाउने लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने जानकारी दिनुभएको थियो ।
जाँड–रक्सी खाएर गाडी चलाउने, ट्राफिक लेन मिचेका, रातो बत्तीमा गाडी नरोक्ने र तीव्र गतिमा गाडी चलाउनेलाई स्वयंसेवकका रूपमा खटाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सचेतना कक्षा दिँदै आएकाहरूलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर स्वयंसेवकका रूपमा खटाएको उहाँले बताउनुभयो । उनीहरू एक घण्टा स्वयंसेवकका रूपमा सडकमा खटिनुपर्ने भएको छ । स्वयंसेवकको एउटा टोलीमा एक जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।।