दाङ, जेठ २०। दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका वडा नं.१ हारीचारलगायतका क्षेत्रमा विद्युत पुगेको छ ।
संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना निर्माण भएपछि विद्युत सेवा सूचारु गरिएको हो । वडा नं. १ को विकट क्षेत्र हारीचार, कालापहरा, बाघखोर, तिनुखारा, बान्द्रखोला, आरखुट्टी, बसिनडाँडा, सिद्धपधेरा, सालघारी, हल्दे, बाँझविसाउनलगायतका क्षेत्रमा पहिलो पटक विद्युत पुगेको हो ।
जहाँ चारवटा वटा ट्रान्समिटर जडान गरिएको वडाध्यक्ष जंगबहादुर पुनले बताउनु भयो । पेदीखोला, हारीचार, बाघखोर र कालापहरामा ट्रान्समिटर जडान गरेर सेवा प्रदान गरिएको हो । लामो समयदेखि त्यहाँका करिब चारसय घर परिवार विद्युतको पखाईमा थिए ।
सोलार, टुक्कीको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरु विद्युत पुगेपछि भने खुसी भएका छन् । अब बिभिन्न कुटानी, पिसानीलगायतका लागि पनि सहज हुने हारीचारका दुर्गा घर्तीले बताउनु भयो ।
उक्त कार्यको लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा मास्कीले पश्चिम दाङ विकट क्षेत्रका रुपमा लिइने र विकासका हिसाबले पछि परेको भन्दै अब त्यसो हुन नदिने बताउनु भयो । उहाँले पश्चिम दाङलाई हरेक हिसाबले समृद्ध दाङ बनाउने आफ्नो अभियान रहेको बताउनु भयो ।
त्यस अवसरमा विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशेलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिब पृथ्वी पौडेलले गर्नु भएको थियोे ।।