तुलसीपुर, २३ जेठ । दाङको दंगीशरण गाउँपालिकामा निसुल्क महिला प्रजनन स्वास्थ्य शिवर सुरु भएको छ । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविरको आज वडा नम्बर १ को आधारभुत स्वास्थ्य केन्द्र रामपुरमा उद्घाटन गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पुर्वाधारको विकासलाई मात्रै प्राथामिकता नदिएर आफुले स्वास्थ्य सेवाको विकासमा समेत ध्यान दिएर अगाडी बडेको बताउनुभयो । उद्घाटन कार्यक्रमको प्रमुख अथितिसमेत रहनुभएका अध्यक्ष गिरीले महिलाहरुमा लुकेर रहेका स्वास्थ्य समस्या पत्ता लगाउने उदेश्यले प्रत्यक बर्ष शिविरको आयोजना गरिएको बताउनुभयो । शिविरबाट सामान्य किसिमका औषधीहरुसमेत उपलब्ध गराइने उहाँको भनाई छ । विशेषगरी महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने उदेश्यका साथ निसुल्क महिला प्रजजनन स्वास्थ्य शिविरको आयोजना गरिएको हो । गाउँमै पाठेघरको मुखको क्यान्सर भएनभएको बारे चेकजाँच गर्न पाउदा स्थानिय महिलाहरु खुसी भएका छन् । ग्रामिन भेगका महिलाहरु आफ्नो स्वास्थ्य समस्याबारे खुलेर बोल्न नसक्दा बर्षौदेखी रोग पालेर बस्न बाध्य छन् ।
सो अवसरमा बोल्दै वडा नम्बर १ का वडाअध्यक्ष रमेश भण्डारीले महिलाहरुलाई आफ्ना समस्या बताउन सहज होस् भन्ने उदेश्यले अहिले महिला डाक्टरबाटै चेकजाँचको व्यवस्था गरिएको बताउनुभयो । आजको शिविरबाट वडाका ९५ जनाले सेवा लिएको उहाँले बताउनुभयो । जसमा ३÷४ जना संकास्पद देखिएका छन् । विशेषगरी उमेर ढल्की सकेका अर्थात ३५ बर्षभन्दा माथीका महिलालाई पाठेघरको मुखको क्यान्सर बढि देखिने स्वास्थ्य शाखाले जनाएको छ । महिलाहरुमा हुने यस्ता समस्या पत्ता लगाई रोग पालेर बसेका महिलालाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उदेश्यले यो शिविरको आयोजना गरिएको दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले बताउनुभयो । आज २३ गते वडा नम्बर १ बाट सुरु भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविर विभिन्न स्थानमा गरी २९ गते सम्पन्न हुने छ । आधारभुत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले गर्नुभएको थियो ।।