कृष्ण अधिकारी / तुलसीपुर, २६ जेठ । दाङको तुलसीपुरमा बस र अटो ठोक्किदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–५ निवासी २९ वर्षीय अंकित गुप्ता, सल्यानको कुमाख गाउँपालिका–५ निवासी २६ वर्षीया रिता बोहोरा, उहाँको छोरा ६ वर्षीय केशब बोहोरा, सोही ठाउँकी १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते मध्य छबिलालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेको रा १ ख २०३७ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुर–७ स्थित गणेशपार्क जाने बाटोमा आज अपराह्न पौने ४ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएकाहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।