तुलसीपुर, ९ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले यातायात मजदुरहरूको हकहितका निम्ति काम गर्ने बताउनु भएको छ । संगठनको ४५ औँ स्थापना दिवसका सन्दर्भमा जिल्ला कमिटी दाङले आज (आईतवार) तुलसीपुरमा आयोजना गरेको दिपप्रज्वलन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । यातायात श्रमिक वर्गहरूको मुद्दालाई अघि सार्दै स्थापना भएको सङ्गठनले सधैँ उनीहरूको पक्षमा आवाज उठाउने उहाँले बताउनुभयो ।
यातायात क्षेत्रका श्रमिकहरूको हक र अधिकारको निम्ति कठिन परिस्थितिमा संगठनको स्थापना भएको उहाँले बताउनुभयो । सङ्गठनले देशभरका यातायात मजदुरहरूको सवाललाई उठाउँदै आएको र आगामी दिनहरूमा पनि हकहितका लागी संघर्ष गर्ने वलीले बताउनु भएको छ । साथै यसका निम्ति सम्पूर्ण यातायात मजदुरहरु एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला अध्यक्ष दीपक कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य काली प्रसाद योगी, सङ्गठनका जिल्ला संस्थापक चूडा बहादुर बिक लगायत यातायात मजदुरहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव प्रकाश भण्डारीले गर्नु भएको थियो । संगठनले स्थापना दिवसको अवसरमा यस अघि सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम गरेको थियो ।संगठनको स्थापना २०३६ असार ९ गते सुनसरीको पानीपीया भन्ने स्थानमा भएको थियो ।।