तुलसीपुर, १० असार । दाङको दंगीशरण गाउँपालिकाका इन्जिनियर प्रमोद गौतमका दिनचरियाहरु हिजोआज पालिकामा आउने र जानेमै बितिरहेका गरेका छन् । पालिकाले काम गर्न नदिएपछि कार्यालयमा उपस्थित भएपनि त्यसै फर्कीनु परेको उहाँले बताउनुभयो । पालिकाले कुनैपनि जिम्मेवारी प्रदान नगर्दा पालिकामा हाजिर भएपनि काम गर्नबाट बञ्चित हुनुपरेको छ । उहाँले भन्नुभयो ।–‘पालिकामा त दैनिक रुपमा आइरहेको छु । तर, मले कुनै जिम्मेवारी पाएको छैन । त्यसैले गर्दा आउने र जाने मात्रै भएको छ । यसरी दिन कटाउन एकदुई दिन त ठिकै हो । तर, सधै यस्तै गरिरहदा आफैलाई पनि नमजा लागिरहेको छ । कामको हिसाबले शुख भएपनि मानसिक रुपले तनाव र सामाजिक हिसाबले हेर्दा बेज्जतको महसुस भइरहेको छ’ । अझैपनि आफु काम पाइन्छ कि भन्ने आशामै रहेको उहाँले बताउनुभएको छ । दंगीशरण गाउँपालिकामा इन्जिनियरको रुपमा काम गरिरहेका इन्जिनियर गौतमलाई केही महिना अगाडी पालिकाले ३ महिनाका लागी काजमा प्रदेशमा पठाएको थियो । अहिले काजको समय सकिएपछी पुनः पालिकामै उपस्थित हुदा काम गर्न नदिइएको उहाँको भनाई छ ।
पालिकामा आएको झण्डै एक महिना भएपनि अहिलेसम्म कुनै जिम्मेवारी नपाएको उहाँले बताउनुभयो । पालिकाले वडा नम्बर २ मा रोजगारका प्राविधिकलाई पठाउन खोजेपछी आफुले पुर्वाधारकै प्राविधिक पठाउदा उपयुक्त हुने भनेको र त्यसै कारण आफुलाई प्रदेशमा तानिएको उहाँले बताउनुभयो । इन्जिनियर गौतमलाई प्रदेशमा पठाएर पालिकाले इन्जिनियरको जिम्मेवारी ओभरसियर भुम बहादुर बोहरालाई दिएको छ । पालिकामा अहिले इन्जिनियरको काम उहाँले नै गरिरहनुभएको छ । कर्मचारी खटनपटनको जिम्मा प्रशासकिय अधिकृतलाई हुने भएपनि अध्यक्षको दबाबले गर्दा प्रशासकिय अधिकृतले जथाभावी कर्मचारीलाई दुःख दिने गरेको स्रोतको दाबी छ । यता दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भने इन्जिनियर प्रमोद गौतमले अपेक्षाकृत रुपमा काम गर्न नसकेकाले यस्तो अवस्था आएको बताउनुभएको छ । अब अहिले अर्कैलाई जिम्मेवारी दिइसकेको अवस्थामा इन्जिनियर गौतमलाई काम लगाउन नसकिएको बताउनुभयो । अब साउनदेखी नयाँ सिस्टम लागु गरी इन्जिनियर गौतमलाई जिम्मेवारी दिइने उहाँको भनाई छ ।।