दाङ, २२ असार । दाङको राप्ती गाउँपालिकाले बँधिया (बन्ध्याकरण) गरिएको भाले पाल्ने किसानलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले साना किसानलाई हौसला बढाउन पहिलो पटक बँधिया भाले पाल्ने किसानलाई बार्षिक रुपमा प्रतिभाले एकसय रुपियाँका दरले अनुदान उपलब्ध गराउन थालेको हो । गाउँपालिकाले बँधिया भाले पाल्ने किसानलाई अनुदान दिनका लागि चालु आर्थिक वर्षमा एक लाख रूपियाँ बजेट छुट्याएको र सोहीमार्फत १२ जना किसानले कुल तीनसय बँधिया भालेका लागि अनुदान प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
अनुदान प्राप्त गर्नका लागि किसानले न्यूनतम पाँच वटा बँधिया भाले पालेको हुनुपर्नेछ । ‘साना किसान प्रवर्धन कार्यक्रम’ अन्तर्गत प्रोत्साहनका लागि थोरै भए पनि अनुदान दिन थालिएको पालिकाको पशु शाखाले जनाएको छ । गाउँपालिकाले अनुदान दिनका लागि सूचना निकालेर विवरण सङ्कलन गरेको र सोही आधारमा किसानलाई रकम उपलब्ध गराएको हो ।।