काठमाण्डाै, भदौ ३१ । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै झन्डै सात लाख रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका घर भई काठमाण्डौको तिलगङ्गा बस्ने ४४ वर्षीय त्रिलोककुमार यादव, खोटाङको रावाबेसी गाउँपालिका घर भई काठमाण्डौको चावहिल बस्ने २५ वर्षीय रामप्रसाद रिजाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई काठमाण्डौको बौद्ध बस्ने २० वर्षीय सुजन स्याङ्बो रहेका प्रहरीले जनाएको छ । यादवले तीन जनाबाट तीन लाख, रिजालले तीन जनाबाट दुई लाख ४० हजार र स्याङ्बोले एक जनाबाट एक लाख ५० हजार रुपैयाँ उठाएका थिए ।
उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया र दुबई लगायतका देशहरूमा लैजाने भन्दै ठगी गरेको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।।