काठमाडौँ, ३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।
दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, उहाँको छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएको र उनलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।।