जनकपुरधाम, कात्तिक २ । महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई बालिका घाइते भएका छन् ।
गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिएनुभएको छ ।
करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर जाँदै गरेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।।