सल्यान,५ कात्तिक । सल्यानमा घरको पेटीबाट लडेर एक कर्मचारीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका २ डाँडागाउँ घर भई शारदा नगरपालिका ३ को वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी ५२ वर्षका ओइलु रोकायको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनुभयो
आइतबार बेलुकी घरको पेटीमा बस्नु भएका रोकाय एक्कासि लडेर टाउकोमा भित्री चोट लागेको थियो । उहाँलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा त्यहा उपचार सम्भब नभए पछि प्रदेश अस्पताल सुर्खेत हुँदै नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । कार्यालय सहयोगी रोकायको मृत्यु भएपछि सोमबार शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर पालिकासँग सम्बन्धित सबै कार्यालय, विद्यालय शोक बिदा गरेको छ ।।