दाङ, १६ मंसिर । दाङको बिजौरीमा बस दुर्घटनामा परी घाइते एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१८ दुधराश निवासी ३२ वर्षिय इन्द्रा थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस गत शुक्रबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१८ डाडागाँउ नजिकै आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । दुर्घटनामा थापासहित बसमा सवार अन्य २२ जना घाइते भएका थिए । घाइते मध्य थापाको नर्सिङ होम नेपालगन्जमा उपचारकै क्रममा आज आइतबार साझ साढे ७ बजेको समयमा मृत्यु भएको र अन्य घाइते विभिन्न अस्पतालमा उपचार पछि डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । बस सडकदेखी अन्दाजी २/३ मिटर तल खसेर दुर्घटना भएको थियो । बस चालक घोराही– १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।