काठमाण्डाै, पौष ४ । वैदेशिक रोजगारीमा सिङ्गापुर र पोल्यान्ड पठाइदिने भन्दै २२ लाख ३० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारधाम नगरपालिका – ४ घर भई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका – ५ जोरपाटी बस्ने ३८ वर्षीय राजकुमार चौधरी र धनुषाको मटिहानी नगरपालिका – ९ घर भई काठमाण्डौ महानगरपालिका – ९ गौशाला बस्ने ३९ वर्षीय रूपेशकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
राजकुमारले पोल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट ६ लाख ३० हजार र रूपेशकुमारले सिङ्गापुर पठाइदिने भन्दै एक जनाबाट १६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
राजकुमारलाई काठमाण्डौको काँडाघारी र रूपेशकुमारलाई काठमाण्डौको टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभएको छ ।।