काठमाण्डाै – गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज सुनील र विकललाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई पक्राउ गरेको थियो । दुवै जनामाथि सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।
आयोगले गएको असोजमा सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस्तै अख्तियारले गएको वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध झन्डै ७० करोड रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका सुनील र विकललाई २१ दिन थुनामा राख्न अनुमति
Views: 1000 125
Read Time:1 Minute, 56 Second