तुलसीपुर, २१ चैत । पश्चिम दाङको दंगीशरण गाउँपालिका–१ को दुर्गम बस्ती फुर्केसल्लीका विभिन्न स्थानमा विद्युत विस्तार हुन थालेको छ । मुख्य सडक अन्र्तगत पर्ने साङ्ले र ठाँटीमा यस अघि नै विजुली बत्ति सूचारु भइसकेपनि शाखा सडक अन्र्तगत पर्ने हाउरे र खर्काखुटीमा तार मात्रै विस्तार गरिएको थियो भने चिउरेपानी पोल गाड्न बाकी रहेको छ । अब हाउरे र खर्काखुटीमा बत्ती बलिसकेको छ भने फुर्केसल्लीको अन्तिम गाउँ कालितरासम्म लाइन पुग्न बाकी रहेको छ । अहिले कालितराको केही स्थानमा पोल विस्तार गरिएको छ । अब चिउरेपानीमा पनि तत्काल विजुली पुर्याइने वडाअध्यक्ष रमेश भण्डारीले बताउनुभएको छ ।
मंगलबार (हिजो) विद्युत प्राधिकरणका प्रतिनिधिसहित स्थलगत अवलोकनमा चिउरेपानी पुगेका वडाअध्यक्ष भण्डारीले पोलको व्यवस्थापन गरेर जतिसक्यो छिटो लाइन जोडिने बताउनुभएको हो । सो अवसरमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले चिउरेपानीसम्म लाइन पुर्याउनका लागी अब झन्डै १० वटा पोल आवश्यक पर्ने देखिएकाले सो पोलको व्यवस्थापन गरिने बताउनुभएको छ । यस्तै गाउँपालिका अध्यक्ष शम्भु गिरीले फुर्केसल्लीको विकासको लागी आफु सक्रिय रुपमा लागीररहेको बताउनुभएको छ । एकै बर्षमा आधारभुत स्वास्थ्य सेवा र विद्युत विस्तार गरिएको भन्दै उहाँले यसअघि कुनै पनि सामान्य सेवाबाट वञ्चित रहेको फुर्केसल्लीमा अहिले धेरै काम भएको बताउनुभएको छ । अहिले नेपाल टेलिकमको टावर पनि निर्माणको क्रममा रहेकाले अब फुर्केसल्लीबासीलाई सहज हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।।