दाङ, २३ चैत्र । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । महरा माओवादी संसदीय दलका नेता हुनुहुन्छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत (४८) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिनुभएको थियो ।
लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्रीको सपथ भने आइतबार दिउँसो १ सपथग्रहण गराउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।।