काठमाडौं, २६ चैत । इजरायल र प्यालेस्टिनको हमास समूहबीच लडाइ शुरु भएको आज छ महिना पूरा भएको छ । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरूमध्ये एक सय २४ जना रिहा भएका छन् । बाँकी १४ जनाको शव भेटिएको छ भने अरूको अवस्था थाहा हुन सकेको छैन ।
त्यसको जवाफमा इजरायलले गरेको आक्रमणमा गाजामा ३३ हजार एक सय ७५ जना प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरैजसो बालबालिका र महिला रहेका छन् । गाजा शहर ध्वस्त भएको छ । २० लाख जनाभन्दा धेरै घरबारविहीन भएका छन् । अस्पतालमा समेत इजरायलले बमबारी गरेर सेवा बन्द गराएको छ । मानवीय सहायताका सामग्री पुर्याउन नदिँदा कैयौँ मानिस भोकभोकै मरिरहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।।