रसुवा, २९ चैत । मानव बेचबिखन मुद्दामा संलग्न भएको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुस्याङ्बो घलेलाई पक्राउ गरिएको छ । सात वर्ष अगाडि मानव बेचबिखनमा संलग्न भएको आरोपमा घलेलाई पक्राउ गरिएको हो । २०७३ सालमा घलेलगायतले जाहेरवाला परिवर्तित नाम २६ परिसर ट लाई कुवेतमा मासिक ८० कुवेती दिनार अर्थात् नेपाली रुपैयाँ २८ हजार बराबर तलब पाइने काममा लगाइदिने लोभ लालचमा पारी राहदानीसमेत आफ्नै खर्चमा बनाई दिएर कुवेत नभइ श्रीलङ्का पठाएर बेचबिखन गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घलेलगायतले राहदानी बनाइसकेपछि तिमीहरूको दिल्लीमा भिसा आइसक्यो, अब दिल्ली जानुपर्छ, दिल्लीमा धेरै दिन बस्नु पर्दैन भन्दै २०७३ सालको साउन महिनामा नयाँ दिल्ली हुँदै भिजिट भिसामा श्रीलङ्काको कोलम्बो पु¥याई कोठामा राखी कुटपिट गरि बन्धक बनाइ राखेको अवस्थामा प्रहरी तथा अन्य सङ्घसंस्थाको पहलमा नेपाल फर्किन सफल भएकोमा उनी विरुद्ध उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले बुधवार काठमाडाँै महानगरपालिका ११ बबरमहलबाट अध्यक्ष घलेलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । घले गत २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।।