तुलसीपुर, २ वैशाख । दाङमा माटोको ढिस्कोले पुरिएर २ जना बालकको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङदाङ प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनुभयो । घोराही ९ आन्द्राभरैयाका ३÷४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाई छ ।
आज आइतबार दिउँसो साढे १ वजेको समयमा खेल्ने क्रममा खेल्न गएका मध्येबाट १ जना बालकको उद्धार गरिए पनि अन्य २ जनाको गहिरो खाल्टो गएर पुरिएका कारण उद्धार गर्न नसकेपछि ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको शव अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्टो किन खनिएको थियो भन्ने बारेका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।