काठमाण्डाै, २ जेठ । निजी क्षेत्रकाे टेलिकम्युनिकेशन सेवा प्रदायक कम्पनी एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकले अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु नपर्ने कम्पनीले जनाएकाे छ ।
‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य नेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नभई सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेकाे एनसेलले बताएकाे छ ।
‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन् र मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै– किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैँ अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भन्नुभयाे ।
नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य देशहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु याे योजनाको अवधारणा रहेको एनसेलले जनाएकाे छ । अहिले चाहे त्यो एनसेल होस् वा नेपालका अरू सेवा प्रदायकका प्लानहरू हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहककाे जानकारीविना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स कटाई दिइरहेको हुन्छ ।
यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ । ‘सधैँ अन’ मार्फत एनसेल ग्राहकका ब्यालेन्स सकिने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकका सुझावलाई विशेष ध्यानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको छ ।
‘यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकलाई फाइभजीका लागि तयार पार्नु रहेको एनसेलले जनाएकाे छ । फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० वटाभन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ । हामी चाहन्छौँ भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एशियाको दोस्रो देश बनोस् । तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ । यसको मतलब, तपाईंको डेटा ‘सधैँ अन’ हुनुपर्छ’, कायुमोभले भन्नुभयाे ।
फाइभजीको अर्थ केवल द्रूत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका क्षेत्रहरूको विकासमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने एनसेलले जनाएकाे छ ।
मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ ।
नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ– १० मध्ये दुई जनामात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र चार जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।
एनसेलले ल्यायाे ‘सधैँ अन’ याेजना
Views: 1000 71
Read Time:4 Minute, 52 Second