बैशाख ५, २०८२
पढ्न लाग्ने समय :

दाङका अगुवाहरुले एउटै स्वरमा भने: गणतन्त्र बिरोधी गतिविधिको डटेर प्रतिवाद गर्छौं

दाङ, वैशाख ५ । गणतन्त्रका बिरुद्धमा राजावादीहरुको चलखेल सुरु भइरहँदा गणतन्त्रको सुदृढीकरणका लागि डटेर प्रतिवाद गर्ने दाङका राजनीतिक दल र अधिकारकर्मीहरुले प्रतिबद्धता जनाएका छन् । प्रेस चौतारी नेपाल दाङले शुक्रबार आयोजना गरेको ‘गणतन्त्र सुदृढीकरणका सवालहरू’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एउटै स्वरमा भने, “गणतन्त्र नेपाली जनताको संघर्ष र बलिदानको प्रतिफल हो । कसैले आवाज उठाएकै भरमा गणतन्त्र कमजोर बन्न सक्दैन । प्राप्त उपलब्धी गुम्न दिँदैनौं ।” कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य अनिता देवकोटाले कानुन निर्माणमा ढिलाइ भएकै कारण निरासा उत्पन्न भएको बताइन् । गणतन्त्रको विकल्पमा गणतन्त्र नै भएको बताउँदै उनले राजतन्त्रको माग बेमौसमी भएको बताए ।

“गणतन्त्रको बिकल्प गणतन्त्र नै हो । राजतन्त्रको माग बमौसमी हो । गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दलहरू जिम्मेवार भएर समयमै कानुन बनाउनेतर्फ लाग्नुपर्दछ । गणतन्त्र अझै सुदृढ बन्छ”, देवकोटाले भनिन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतमले गणतन्त्रले आम जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरे । जनजीविकाको क्षेत्रमा उल्लेख्य कार्य भएको भन्दै उनले केही भएन भन्ने भ्रम फैलाउन देशीविदेशी शक्तिहरुको चलखेल बढेकाले यसलाई निस्तेज पार्न सबै लाग्नुपर्ने बताए । “गणतन्त्रले जनजीविकाको सवालमा ऐतिहासिक सफलता हासिल गरेको छ । केही भएन भनेर भ्रम फैलाउने शक्तिहरुकै कारण चौतर्फि निरासा उत्पन्न भइरहेका छन्”, केन्द्रीय सदस्य गौतमले भने, “जनताको बीचमा भ्रम फैलाउने प्रयत्न भइरहेका छन्, समयमै यसलाई रोक्नुपर्दछ । राजनीतिक शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्दछ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लोकतान्त्रिक गणतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने उल्लेख गर्दै भने, “स्वतन्त्र प्रेसको संरक्षणका लागि लोकतान्त्रिक गणतन्त्र बलियो हुनुपर्छ ।” मुलुकको परिवर्तनका लागि सञ्चार जगतले उल्लेख्य भूमिका खेलेको भन्दै प्रियासनले गणतन्त्रको बिरुद्धमा भइरहेका कार्यको नेपाल पत्रकार महासंघले डटेर सामना गर्नुपर्ने बताए ।।

प्रतिक्रिया दिनुहोस्