जेष्ठ ६, २०८१
पढ्न लाग्ने समय :

दाङको टरिगाउँ एयरपोर्टको विस्तार हुन्छ – महासचिव पोखरेल

तुलसीपुर, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी आर्थिक वर्षदेखि टरिगाउँ एयरपोर्ट विस्तारको काम सुरु हुने बताउनुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । तुलसीपुरको एयरपोर्ट विस्तारको काम अगाडि बढाउनुपर्छ भन्ने सुझाव वर्तमान सरकारलाई दिएकाले अबको नीति तथा  कार्यक्रम र बजेटमा यसले प्राथमिकता पाउने महासचिव पोखरेलले बताउनुभयो । काँग्रेस सत्तामा भएकै बेला आएको प्राविधिक टोलीले टरिगाउँ एयरपोर्ट भन्दा नारायणपुर उपयुक्त भन्ने रिपोर्ट दिएको महासचिव पोखरेलले बताउनुभयो ।
‘केपी ओली प्रधानमन्त्री हुँदा एयरपोर्ट विस्तारको योजना हामीले अघि सारेका थियो । नौ महिना पछि सरकार परिवर्तन भएर काँग्रेस सत्तामा गयो । कांग्रेसकै नेता पर्यटनमन्त्री थिए । त्यो कुरा तपाईँलाई पनि थाहा होला । त्यसबेला पठाएको प्राविधिक टोलीले टरिगाउँमा एयरपोर्ट बन्दैन भन्ने निष्कर्ष निकाल्यो र उसैले यो भन्दा नारायणपुर उपयुक्त छ भनेर प्रतिवेदन दिने काम गर्यो ।
 त्यसैका आधारमा नारायणपुरमा अध्ययनको काम सुरु भयो । जसले गर्दा दाङ एक खालले भन्ने हो भने जनमतका हिसाबले विभाजनको अवस्थामा पुग्यो ।’ महासचिव पोखरेलले भन्नुभयो । एयरपोर्टको उत्तर दक्षिण १५ सय  मिटरको धावन मार्ग विस्तार गर्न सकिन्छ भन्ने तुलसीपुर उपमहानगरपालिकाले गरेको अध्ययनका आधारमा यस वर्ष बजेट पर्ने आगामी आर्थिक वर्षदेखि काम पनि सुरु हुने उहाँले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्