दाङको तुलसीपुरबाट झण्डै ९ हजार युवाहरु बिदेशीए

तुलसीपुर,३१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्रको कुल ४६ हजार १८ घरधुरी मध्ये १२ हजार २ सय ६६ घरधुरीका युवाहरु विदेश गएका छन् । तुलसीपुर उपमहानगरपालिकाले २०८० मा तयार पारेको उपमहानगरको पाश्र्वव चित्रमा यस्तो तथ्याँक देखाएको छ । रोजगारी तथा अध्ययनका लागि सो तथ्याँकमा युवाहरु विदेशमा रहेका छन् । उपमहानगरपालिकाका ८ हजार ६३ घरधुरीका ८ हजार ८ सय ५० जना युवाहरु वैदेशिक रोजगारमा कार्यरत रहेका छन् । उपमहानगरका १९ वटै वडामध्येबाट सबै भन्दा धेरै युवाहरु ९ नम्बर वडाबाट ९ सय १७ घरधुरीका ११ प्रतिशत विदेशमा छन् ।
यस्तै वडा नंबर ६ बाट ८ प्रतिशत, वडा नम्बर ३,४ र १५ बाट ७ प्रतिशत, वडा नम्बर १६ र १८ बाट ६ प्रतिशत, वडा नंबर ७,८,१०,१२,१३ र १७ बाट ५ प्रतिशत घरधुरीका युवाहरु वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने बाँकी १ र ५ नम्बर वडाबाट ४ प्रतिशत, वडा नम्बर ११ र १४ बाट ३ प्रतिशत र २ र १९ बाट सबेभन्दा कम २ प्रतिशत घरधुरीका युवाहरु विदेशमा छन् । यस्तै उपमहानरपालिकाका १२ प्रतिशत महिलाहरु वैदेशिक रोजगारीमा गएका छन् । यसले गर्दा उपमहानरका वस्तीहरु युवाविहीन बन्दै गएका छन् । जसका कारण स्थानिय विकासका योजना तर्जुमा तथा त्यसको कार्यान्वयन प्रक्रियामा युवा जनशक्तिको अभाव हुँदै गइरहेको अवस्था छ । परिणाम स्वरुप युवाविहीनताको अवस्थाले समग्र सामाजिक संरचना तथा विकास प्रक्रियामा नै प्रत्यक्ष असर परिरहेको देखिन्छ ।
संविधानले रोजगारीलाई के भनेको छ ?
नेपालको संविधानले रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गरी प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हकको व्यवस्था गरेको छ । संविधानको धारा ५१ को ‘झ’ मा वैदेशिक रोजगारलाई शोषणमुक्त र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूत गर्न यस क्षेृत्रको नियमन र व्यवस्थापन गरी वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमुलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने व्यवस्था उल्लेख गरेको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ जारी भएसँगै रोजगार तथा बेरोजगारको तथ्याँक संकलन, रोजगार सुचना केन्द्रको संचालन र सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि सुचना तथा सीप तालिम प्रदान लगायतका महत्वपूर्ण सेवाहरु प्रवाह गर्ने जिम्मेवारी स्थानिय सरकारको रहेको छ । उक्त ऐनको परिच्छेद ३ को दफा ११ को उपदफा २ ‘थ’ मा भएको व्यवस्था बमोजिम स्थानिय सरकारले आफ्नो स्थानिय तहभित्रको सुरक्षित वैदेशिक रोजगार एवं वैदेशिक रोजगारीमा रहेका श्रमशक्तिको सुचना संकलन तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ । सो ऐन अुसार दाङको तुलसीुर उपमहानगरपालिकाले वैदेशिक रोजगारीका गएका नगरवासीहरुको तथ्याँक संकलन गरेर पाश्र्वव चित्रमा समावेश गरेको हो ।
दाङबाट कतिले श्रम स्वीकृति लिए ?
यसैविच वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा दाङका ११ हजार आठ सय १२ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०८९÷०८० मा दाङका १७ हजार आठ सय सात जनाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । जसमा एक हजार तीन सय ३७ महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।।