दाङको दंगीशरणमा रोजगारको बजेट -विकासमा भन्दा कर्मचारीको भत्तामा धेरै खर्च
तुलसीपुर, २६ असार । दाङको दंगीशरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट विकास निर्माणका काममा भन्दा कर्मचारीको तलबभत्तामा धेरै खर्च भएको पाइएको छ । गत आर्थीक बर्ष २०८०/०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत नेपाल सरकारबाट दंगीशरण गाउँपालिकालाई प्राप्त भएको जम्मा ४६ लाख ८३ हजार रुपैैयाँ मध्य विकासका काममा जम्मा १३ लाख ९० हजार ७ सय ३६ रुपैयाँ खर्च हुदा कर्मचारीको तलबभत्तामा मात्रै झण्डै १५ लाख रुपैया खर्च भएको छ । प्रधानमन्त्री रोजगारअन्र्तगत दंगीशरणमा ३ जना कर्मचारी रहेकोमा रोजगार सहायक र प्राविधिक सहायकको समान ४ लाख ५१ हजार ४ सय ९० रुपैयाँ र रोजगार संयोजकको ५ लाख ६६ हजार ९ सय ५६ रुपैयाँ गरी जम्मा १४ लाख ६९ हजार ९ सय १६ रुपैयाँ खर्च भएको छ । यसरी हेर्दा प्रधानमन्त्री रोजगारको बजेट विकास निर्माणको कामको तुलनामा कर्मचारीको तलबभत्तामा झण्डै ८० हजार रुपैयाँ बढि खर्च भएको देखिएको छ ।
रोजगारबाट सबैभन्दा धेरै काम वडा नम्बर १ मा
दंगीशरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगतको बजेट सबैभन्दा धेरै वडा नम्बर १ मा खर्च भएको छ । पालिकामा जम्मा खर्च भएको बजेटमध्य झण्डै आधा बजेट बराबरको काम वडा नम्बर १ मा भएको पाइएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत दंगीशरण गाउँपालिकामा विकास निर्माणका लागी भनेर विनियोजन भएको जम्मा २६ लाख ७२ हजार रुपैयाँ मध्य १३ लाख ९० हजार ७ सय २६ रुपैयाँ मात्रै खर्च भएको पालिकाका सूचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो । जसमा वडा नम्बर १ मा मात्रै रोजगारको ५ लाख ७३ हजार १ सय ४ रुपैयाँ बजेटमार्फत ६ वटा योजनाका काम भएका छन् । यसमा वडा कार्यालयले पनि आवश्यक बजेट विनियोजन गरेर साझेदारीमा काम भएको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । वडाबासीलाई रोजगारी सृजना गर्नुका साथै विकासका काम समेत अगाडी बढाउने उदेश्यले वडामा रोजगारबाट सबैभन्दा धेरै काम गर्ने कोसिस गरिएको उहाँले बताउनुभयो । यसैगरी वडा नम्बर ६ मा प्रधानमन्त्री रोजगारको बजेटबाट ४ वटा योजनाको काम भएको छ । जहाँ ४ लाख ७२ हजार ९ सय ४४ रुपैयाँ रोजगारको बजेट हुदा वडाले पनि साढे १४ लाख बराबरको बजेट छुट्याएर साझेदारीमा काम भएको वडाअध्यक्ष रोशनजंग शाहले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साझेदारीका लागी पालिकामै सबैभन्दा धेरै १४ लाख ३० हजार बजेट छुट्याएर साझेदारीमा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार रोजगारसँगको साझेदारीमा ६ नम्बर वडामा झण्डै १९ लाख बराबरका विभिन्न योजनाका काम भएका छन् । यसैगरी वटा नम्बर २ मा २ लाख ११ हजार ७ सय ५६ रुपैयाँ बराबरको २ वटा योजनाको काम भएको छ । यस्तै वडा नम्बर ३ मा १ लाख ३२ हजार ९ सय ३२ रुपैयाँ बराबरको रोजगारबाट २ वटा योजनाका काम भएका छन् ।
एमालेका ३ वडामा रोेजगारको बजेट सुन्य
दंगीशरण गाउँपालिकामा जम्मा ७ वटा वडा रहेका छन् । जसमध्य वडा नम्बर १, ३ र ६ मा काग्रेसबाट निर्वाचित वडाअध्यक्ष छन् भने २, ४, ५ र ७ नम्बर वडामा एमालेबाट निर्वाचित वडाअध्यक्ष छन् । जसमा एमालेका वडाअध्यक्ष भएका ४, ५ र ७ नम्बर वडामा प्रधानमन्त्री रोजगारबाट कत्तिपनि बजेट छुट्याइएको छैन । यता यी वडाका अध्यक्षहरुले भने समन्वय अभावले गर्दा आफ्ना वडामा प्रधानमन्त्री रोजगारको बजेट पर्न नसकेको बताएका छन् । वडा नम्बर ४ का वडाअध्यक्ष कमल चौधरीले यसबारेमा आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिनुभएको छ । साझेदारीमा काम गर्दा काम धेरै हुने भएपनि आवश्यक समन्वय र सहयोग नहुदा समस्या भएको उहाँको भनाई छ । यसैगरी वडा नम्बर ७ का वडाअध्यक्ष रेशम वलीले पनि प्रधानमन्त्री रोजगारका लागी पलिकामा कति बजेट छ भन्नेबारे जानकारी नभएको बताउनुभयो । रोजगारका कर्मचारीहरुले सम्बन्धित वडाअध्यक्षहरुसँग आवश्यक सरसल्लाह नगरी आफ्नै तरिकाले काम गर्न खोज्दा आफ्नो वडामा रोजगारको बजेट सुन्य हुन गएको उहाँले बताउनुभयो । आगामी दिनमा रोजगार अन्र्तगतको बजेटका बारेमा सबै वडाहरुलाई जानकारी हुनुपर्ने र आवश्यक समन्वय गरी अगाडी बढ्दा राम्रो हुने उहाँको भनाई छ ।
रोजगारको झण्डै १३ लाख बजेट फ्रिज
दंगीशरण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नेपाल सरकारबाट रोजगार संयोजक, रोजगार सहायक र प्राविधिक सहायकको तलबभत्ता पोशाक खर्चसमेत गरी प्राप्त भएको जम्मा ४६ लाख ८३ हजार मध्य सबैतर्फ गरी ३१ लाख ८८ हजार ४ २९ रुपैयाँ मात्रै खर्च भएको छ । जसमा विकास निर्माणका कामका लागी भनेर जम्मा २६ लाख ७२ हजार बजेट छुट्याइएकोमा १३ लाख ९० हजार ७ सय ३६ रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी १२ लाख ८१ हजार २ सय ६४ रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको रोजगार संयोजक सन्तोष गिरीले बताउनुभयो ।
पालिकाभरी ७७ जनाले मात्रै पाए रोजगारी
दंगीशरण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक बर्षमा ७७ जनाले मात्रै रोजगारी पाएका छन् । गत आर्थीक बर्ष २०८०/०८१ मा पालिकाका ७ वटै वडामा गरी जम्मा ७७ जनाले राजगारी पाएको रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिनुभयो । विशेषगरी बेरोजगारहरुलाई रोजगार सृजना गरी स्वरोजगार बनाउने र केही विकासका काममा पनि सहयोग पुर्याउने उदेश्यले नेपाल सरकारले यो कार्यक्रम गरेको हो । तर, कतिपय वडामा रोजगारबाट कत्तिपनि बजेट नपरेको अवस्थामा आएको बजेट पनि पुरा खर्च हुन नसकेर फिर्ता हुदा धेरैको चासोको विषय बनेको छ । सबै वडामा आवश्यकता अनुसार बजेट हालेर धेरै काम गरी बजेटको सदुपयोग गर्न सकेको भए राम्रो हुने आम नागरिकको बुझाई छ ।।

