बैशाख २, २०८२
पढ्न लाग्ने समय :

दाङ तुलसीपुरका मेयरको कोशेली – जेष्ठ नागरिकलाई मह

दाङ, बैशाख २ । संघीय सरकारले जेष्ठ नागरिकको सम्मानस्वरूप मासिकरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । स्थानीय सरकारले कतै जेष्ठ नागरिको सम्मानका लागि तीर्थाटन त कतै न्यायो कपडा त कतै च्यवनप्राश वितरण गर्दै आएको छ । त्यहीमध्ये तुलसीपुर उपमहानगरपालिकाले भने जेष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रममार्फत् गाँउ गाँउमा पुगेर जेष्ठ नागरिकलाई कोशेलीबापत मह वितरण सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले जेष्ठनागरिक भनेका समाजमा देउताजस्तै भएकाले उहाँहरूको सम्मानस्वरूप गाँउगाँउमै पुगेर सन्चो बिसन्चोसहित कोशेलीस्वरूप मह वितरण सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो – जेष्ठ नागरिक भनेका हाम्रा लागि देउताजस्तै हो,उहाँहरुका लागि सम्मान पनि होस् र स्वास्थ्यका लागि फाइदा पुगोस् भन्ने ध्येय राखेर मह वितरण सुरु गरेका हौँ । नगरप्रमुख खड्काका अनुसार पालिकाले अघिल्ला वर्षमा न्यानो कपडा वितरणका साथै गाँउ गाँउमा पुगेर मुटु,मधुमेह,आँखाको शिविरसमेत सञ्चालन गर्दै आएको थियो ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठका अनुसार यसवर्ष करिब पाँच सय जेष्ठ नागरिकलाई मेयर कोशेलीकार्यक्रममार्फत् मह वितरण सुरु गरेको बताउनुभयो । श्रेष्ठका अनुसार स्थानीय मौरीपालन किसानहरूलाई प्रोत्साहनका साथै विपन्न समुदायका जेष्ठ नागरिकहरूलाई गाँउमै पुगेर मह वितरण गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्तरीय जेष्ठ नागरिक समितिका अध्यक्ष नवराज पार्धेले स्थानीय सरकारले जेष्ठ नागरिकका अपेक्षासहित मेयर कोशेली कार्यक्रममार्फत् जेष्ठ नागरिकप्रतिको सम्मान व्यक्त भएको बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई वडा वडामा दिउँसोको समयमा मनोरञ्जनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्