Dangsanchar
८ चैत्र २०८१, शनिबार
२४ फाल्गुन २०८१, शनिबार २०:०२
पढ्न लाग्ने समय :

पूर्व राजालाई प्रचण्डको सुझाव – पार्टी खोल्नुस् चुनाव लड्नुस्

काठमाण्डौं, २४ फागुन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिनुभएको छ । शाहका समर्थकहरुले भोलि काठमाण्डौमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर ज्ञानेन्द्र शाहका विरुद्धका दलहरुबाट कडा टिप्पणी र सुझाव आइरहेका बेला माओवादी अध्यक्ष ‘प्रचण्ड’ को पनि यस्तो सुझाव आएको हो । तराई मधेश जागरण अभियानमा रहेका अध्यक्ष ‘प्रचण्ड’ ले दैनिकजसो शाहका बारेमा बोलिरहनुभएको छ । यसअघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहलाई चुनाव लड्न सुझाव दिनुभएको थियो । आज डोटीमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले पनी राजतन्त्र फर्कने हल्ला काम नलाग्ने बताउनुभयो ।

यस्तै हिजो सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पूर्व राजा ज्ञानेन्द्र शाहको सम्पत्ति जफथ गरेर जेलमा राख्नुपर्नेमा स–सम्मान राखेको टिप्पणी गर्नुभएको थियो । राजसंस्थाको पुनस्र्थापना, प्रदेश संरचना खारेजी, सनातन हिन्दू राज्य स्थापनासहितका पक्षमा बुधवार काठमाण्डौमा र्याली निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि विमानस्थलमा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा पनि अगुवाई गर्दैछ । यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्व राजा शाहले जारी गरेको भिडियो सन्देशमा देश जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीको उत्साह र अरु दलहरुको छट्पटी दुवै बढेको छ । तर राजनीतिक विश्लेषकहरु भने नेपालमा अब राजतन्त्र पुनर्स्थापना हुने कुरा असान्दर्भिक भइसकेको दाबी गर्दै आएका छन् ।।

प्रतिक्रिया दिनुहोस्