हत्या आरोपमा पक्राउ परेका माओवादीका नेता जेल चलान

काठमाण्डौ, २३ चैत । काठमाण्डौको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा हिजो र आज दुई दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिनुभएको हो । व्यापारी श्रेष्ठको २०६५ सालको वैशाखमा चितवनको शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।
खामले घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए । तर पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । श्रेष्ठकी श्रीमती रमिलाले दिएको जाहेरीका आधारमा काठमाण्डौबाट गएको मङ्गलवार पक्राउ परेका खामलाई चितवन लगिएको थियो ।।