मध्यपूर्वमा रहेका नेपालीहरुलाई नियम पालना गर्न आग्रह
काठमाण्डौँ, १९ फागुन । अमेरिका–इजरायल र इरानबीचको युद्धले खाडीका देशमा रहेका नेपाली कामदारलाई सुरक्षाको चिन्ता बढाएको छ । जुन–जुन देशमा अमेरिकी सैन्य क्याम्प छन्, ती सबैजसो ठाउँमा इरानले जवाफी आक्रमण गरिरहेको छ । खाडीका देश साउदी, कतार, कुवेत, यूएई, बहराइन, ओमानलगायतमा झन्डै १९ लाख नेपाली कार्यरत रहेको तथ्याङ्क छ । ती देशका विमानस्थल, आवासीय भवन, होटल, तेलखानी जस्ता महत्त्वपूर्ण क्षेत्रमा भइरहेको आक्रमणले असुरक्षित भएको त्यहाँ रहेका कतिपय श्रमिकले बताएका छन् ।
तत्काल युद्ध नरोकिए अवस्था अझै कठिन बन्न सक्छ । परराष्ट्र मन्त्रालयले खाडी देशको परिस्थितिप्रति निरन्तर अनुगमन भइरहेको जनाएको छ । यस्तो अवस्थामा आफ्नो सुरक्षामा पहिलो प्राथमिकता राख्न श्रम तथा द्वन्द्व व्यवस्थापनका विज्ञ मीना पौडेलको सुझाव छ । आफू जोगिने, आफ्ना साथी र सम्बन्धित दूतावाससँग निरन्तर सम्पर्कमा रहन उहाँको भनाई छ ।।

