क्षयरोग निको हुने दर ९५ प्रतिशतभन्दा धेरै
काठमाण्डौ, ११ चैत । आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । आज ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागीएको हो । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोगको उपचार गरेमा पूर्ण रुपमा निको हुने भएकोले उपचार प्रक्रियामा जान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । कुनै पनि दिन नछुटाइकन ६ देखि ८ महिना औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन सक्ने डाक्टरहरुले बताएका छन् । अहिले नेपालमा नियमित औषधि खानेमध्ये ९५ प्रतिशतभन्दा धेरैमा क्षयरोग पूर्ण रुपमा निको हुने गरेको छ ।
क्षयरोगको जाँच र औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सामान्य भाषामा टीबी भनिने यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा। दीर्घसिंह बमले बताउनुभयो । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई यो रोग सर्न सक्छ । मुख्यगरी फोक्सो र फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन अङ्ग, छाला, आँखा र टाउको लगायतमा पनि यसको सङ्क्रमण हुन्छ । क्षयरोगको लक्षण अङ्ग अनुसार फरक भए पनि सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने गर्दछन ।

